नबिन पन्त बिहिबार, साउन २३, २०८२

भक्तपुर। फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको सिभिल मलमा आयोजित कार्यक्रमकाबीच फिल्म ’माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा लोकप्रिय कलाकार केदार घिमिरे ’माग्ने बुढा’लाई मुख्य भूमिकामा देख्न सकिन्छ । उनले मुख्य भुमिकामा खेलेको यो पहिलो फिल्म भएकाले पनि होला ट्रेलरको मुख्य भागमा पनि केदार घिमिरे नै देखिएका छन् । केदार घिमिरेका साथै फिल्लमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई र शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ । फिल्मको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् । ऋषि लामिछानेको निर्देशनमा बनेको फिल्म आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । फिल्लमा माग्ने राजालाई धनाढ्य र सामान्य वर्ग दुवै भेषमा देखाइएको छ । सार्वजनिक फिल्मको ट्रेलर हेर्दा फिल्मले बिना मिहेनत पैसा कमाउन नहुने सन्देश दिन खोजीएको देख्न सकिन्छ । फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउदैँछ ।