

कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटुलो जून’को ‘मेरो मन चोर्यौ सुटुक्कै’ गीत सार्वजनिक गरिएको छ । आइतबार घटस्थापनाको अवसरमा सार्वजनिक यस गीतमा युग भुसालको शब्द तथा संगीत छ भने तृषा र हिमांशु भारतीय गायक गायिका तृषा चटर्जी र हिमांशु जान शर्माले स्वर दिएका छन् ।
विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा अनमोल केसी र प्रिन्सी खतिवडा देखिएका छन् । उनीहरूलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । जुँगासहित देखिएका अनमोलले नृत्य र हाउभाउमा बुवा भुवन केसीको शैली पछ्याउने प्रयास गरेको स्पष्ट देख्न सकिन्छ।
भुवन केसीको निर्देशनमा बनेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी अभिनेत्री गरिमा पन्तसँग बाँधिएको छ । भुवन र गरिमाको युवावस्थाको भूमिका अनमोल र प्रिन्सीले निर्वाह गरेका छन् । उनीहरूसहित फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे,लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, रेअर राई, दीपक केसी, श्वेता मिश्र, शिशिर सिवाकोटीलगायतको पनि अभिनय छ ।
नेपाली समाजको ३०-४० को दशकको प्रेमकथामा आधारित यस फिल्ममा सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन, राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, युग भुसाल र एसडी योगीको संगीत तथा रोमन बज्राचार्यको पार्श्व संगीत छ । फिल्मलाई अभिनेत्री जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा सह-निर्मातामा छन् ।