नबिन पन्त शनिबार, चैत्र २१, २०८२

भक्तपुर हास्य कलाकार सागर लम्साल (बले) लाई हाल छायाँकन भै रहेको ‘पाँच पाण्डव’ फिल्मबाट निकालिएको छ । शुक्रबार विष्ट थरकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेपछि निर्माण पक्षले उनलाई फिल्मबाट निकालेका हुन् । निर्माता कम्पनी कालीरानी फिल्म्सले एक विज्ञप्ति जारी गर्दै अब अर्को कलाकार लिएर पुनः छायांकन (रि-सुट) गरिने जनाएको छ ।हाल सम्म उनको लगभग ९० प्रतिशत दृश्य खिचिसकेको भए पनि अब उनी फिल्मको हिस्सेदार नहुने र उनी संलग्न कुनै पनि दृश्यहरू फिल्ममा नराखिने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘छायांकनकै क्रममा एक मुख्य कलाकारलाई हटाउनु पर्दा र छायांकन भइसकेका दृश्य पुनः खिच्नु पर्दा निश्चय पनि आर्थिक क्षति हुने नै छ । तर, पीडित युवतीको पीडाका अघि हाम्रो यो क्षतिले कुनै मान्यता राख्दैन ।’ ‘पाँच पाण्डव’ जस्तो पवित्र नाम र विषयवस्तुमा आधारित भएर समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले बनिरहेको फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागरसँगको सम्झौता रद्द गरिएको विज्ञप्तिमा जनाइएको छ । निर्माण पक्षले घटनाको सत्यतथ्य जाँचबुझ गर्न जोडदार माग गर्दै पीडितले यथाशीघ्र न्याय पाउनुपर्ने बताएको छ । निर्देशक वसन्त निरौलाको निर्देशनमा बनिरहेको यस फिल्मको तीन सातादेखि झापामा छायांकन भइरहेको छ । सागरलाई हटाइएसँगै उनको ठाउँमा अर्को कलाकार लिने प्रक्रियामा निर्माण टिम जुटिसकेको छ । फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ ।