नबिन पन्त बिहिबार, मंसिर ११, २०८३

मंसिर १८ गतेबाट प्रदर्शन आउन लागेको फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले ट्रेलर दर्शकमाझ ल्याएको हो । ट्रेलरले फिल्मको कथावस्तु, परिवेश र केन्द्रीय द्वन्द्वबारे जानकारी दिने प्रयास गरेको छ ।
सार्वजनिक ट्रेलरले दर्शकलाई एउटा कुरामा भने अन्योलमा राखेको छ । त्यो हो, अञ्जना कसकी श्रीमती हुन् ? सुरुमा विजयकी श्रीमतीका रूपमा देखिएकी अञ्जनाको पछि विनोद न्यौपानेसँग विवाह भएको देखिन्छ । अञ्जनाको वैवाहिक सम्बन्धमा देखिएको यो विरोधाभासले फिल्मको कथामा ठूलो उचारचढावको संकेत गर्छ । ट्रेलरमा फिल्मलाई ‘भाग्य र नियतिबीचको खेल’ भनिएको छ । सरोज पौडेलको निर्देशनमा बनेको फिल्ममा विजय, अञ्जना र विनोदसहित रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, उषा खड्गी, भोलाराज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल, विनोद परियारलगायतका कलाकारको पनि अभिनय छ । फिल्मलाई नेम महर्जनले निर्माण गरेका हुन् ।

निर्देशक पौडेल स्वयंको कथा तथा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्ममा पदमबहादुर श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत, स्मृति तिमिल्सिना (गुरुआमा)को कोरियोग्राफी तथा सुप्रिम पराजुलीको रंग संयोजन छ । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सह-निर्माताका रूपमा छन् ।