नबिन पन्त सोमबार, आषाढ ०८, २०८३

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक रुपमा घोषणा गरिएको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन एवं निर्देशन रहने यस चलचित्रको शुभारम्भ सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको हो । असार महिनाको अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा रहेको यस यस चलचित्रमार्फत चर्चित गायक पशुपति शर्मा र चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले अभिनय क्षेत्रमा डेब्यु गर्ने भएका छन्। निर्माण टिमका अनुसार ‘तीन तीघ्रे क्या बिग्रे’ मार्फत अन्य केही प्रतिभावान कलाकारहरूले समेत डेब्यु गर्नेछन्। यद्यपि, ती कलाकारहरूको नाम भने हाललाई गोप्य राखिएको छ। कमेडी जनरामा निर्माण हुने यस चलचित्र पूर्ण मनोरञ्जनात्मक प्याकेजका रूपमा दर्शकमाझ प्रस्तुत हुने निर्देशक सापकोटाले बताएका छन्। हाल चलचित्रको प्रि–प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको छ। चलचित्रको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ। विदेश वितरणका लागि पनि विभिन्न वितरकहरूबाट चासो र माग आएको भए पनि निर्माण कार्य सम्पन्न भएपछि मात्र त्यसबारे अन्तिम निर्णय गरिने निर्माण टिमले जनाएको छ।