काठमाडौं । अभिनेता तथा निर्माता जितु नेपालले आफूले निर्माण तथा अभिनय गरेको फिल्म ‘आइ एम जितबहादुर’ बक्स अफिसमा सफल हुन नसकेको स्वीकार गरेका छन्। जितुले टेलिभिजन कार्यक्रम ‘रजतपट’सँगको अन्तर्वार्ताका क्रममा फिल्मको व्यापारिक असफलताबारे खुलेर धारणा राख्दै वर्तमा समयमा नेपाली फिल्म उद्योग गम्भीर चुनौतीको सामना गरिरहेको समेत बताएका छन। जितु नेपाल मुख्य भूमिकामा देखिएका ‘आइ एम जितबहादुर’लाई उनको डेब्यु निर्माण मानिन्छ। ‘आइ एम जितबहादुर’मा जितुसहित वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा लगायत कलाकारहरूले अभिनय गरेका छन। फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवकको कथा प्रस्तुत गर्छ। गाउँकै सानो नाट्य मञ्चमा साथीहरूसँग अभिनय गर्दै दर्शकलाई मनोरञ्जन दिने उसका लागि अभिनय केवल रूचि मात्र नभई जीवनकै सबभन्दा ठूलो सपना बनेको हुन्छ। त्यो सपना पूरा गर्न उसले गर्ने संघर्ष र आउने उतारचढावको कथा फिल्मले प्रस्तुत गर्छ। ‘आइ एम जितबहादुर’ सुभेन्दु घोषको निर्देशनमा बनेको हो। फिल्मको निर्मातामा जितु नेपाल छन् भने सह-निर्माता राजन सिम्खडा र दिपेन्द्र अधिकारी हुन्। कार्यकारी निर्मातामा निश्चल कुँवर र निरज नेपाल छन्।