लामो समयदेखि नेपाली फिल्ममा कार्यकारी निर्माता र मुख्य सहायक निर्देशकको रूपमा काम गर्दै आएका सौगात बस्नेत ‘पञ्चमी’ फिल्म मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन् । बुधबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । थिम पोस्टरमा पुरानो टाइपराइटरबाट ‘पञ्चमी’ र ‘आई हेट हु एभर कमस् लेट’ भन्ने लाइन लेखिएको पत्र निस्किँदै गरेको देखिन्छ । पत्रको माथि त्रिशूल र दुई नागको चित्र छ । पोस्टरमा सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र र नाग अंकित लकेट देख्न सकिन्छ । यसले फिल्म धार्मिक कथावस्तुमा बन्न लागेको संकेत देखिउ पनि निर्माण पक्षले यसबारे केही खुलाएको छैन । फिल्मबारे निर्देशक बस्नेतले भने, ‘टाइटलमा जसरी हामीले डिजाइन गरेका छौँ, यो अहिले हेर्दा केही नबुझिने भए पनि फिल्म हेर्दा सरल र सहज देखिनेछ । फिल्मसँग यो सबै ‘रिलेट’ भएर आउनेछ । त्यतिबेला यो थिमको ‘जस्टिफाइ’ हुनेछ । यो एक साइकोलोजिकल मिस्ट्री थ्रिलर हुनेछ ।’ उनका अनुसार एउटा चर्चित उपन्यासमाथि आधारित भएर फिल्म बन्न लागेको हो । उनले यसअघि ‘लाखे’, ‘हरिबहादुरको जुत्ता’ जस्ता फिल्ममा मुख्य सहायक निर्देशक र अर्पण थापाको निर्देशनमा बनेको फिल्म ‘फ्रेन्च किस’मा कार्यकारी निर्माता भएर काम गरिसकेका छन् । यही अनुभवको आधारमा उनले फिल्म निर्देशन गर्न लागेका हुन् । पछिल्लो समय बनिरहेका फिल्मभन्दा ‘पञ्चमी’ फरक शैलीमा निर्माण हुने उनको दाबी छ ।