
चर्चित हास्य टेलिभिजन शो ‘कमेडी दरबार’को समूहले पहिलो पटक निर्माण गरेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यस गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ भने अर्जुन स्वयंको संगीत तथा सन्तोष सापकोटाको शब्द छ । गायक सापकोटाले यही गीतबाट पार्श्व गायनमा समेत डेब्यू गरेका छन् । मिग्मा डि लेप्चाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा गायक सापकोटासहित पवित्रा साकी ९मिस पवि०, सजिना खनाल र निश्चल खड्काले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । साथै भिडियोमा फिल्मका मुख्य चार पात्रहरु गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीलाई सम्मान गरिएको देख्न सकिन्छ । ‘कमेडी दरबार’का बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको यस फिल्ममा माओत्से गुरुङ, मनोज गजुरेल, दीया मास्के, प्रकाश घिमिरे,खड्गबहादुर पुन, पवन खतिवडा , शिशिर वाङ्देल, सुवास गजुरेल, सीडी विजय अधिकारी, रेअर राई, विश्वास तिमल्सेनालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ भदौ १९ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा सरोज भण्डारी, विकास अर्याल र बिक्की अग्रवालको कथा तथा संवाद लेखन छ भने पटकथा बिक्की स्वयंको हो । फिल्मका निर्मातामा श्रृद्धा प्रसाईं र सुमित्रा थापा रहेका छन् । सुदीप बरालको छायांकन रहेको फिल्ममा मिलन विक्रम शाहको सम्पादन, नवीन चौधरीको मास्टरिङ तथा शिशिर ठटालको पार्श्व संगीत छ ।