
असोज ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । शनिबार युट्युबमार्फत सार्वजनिक झन्डै एक मिनेट लामो टिजरमा दुई पुस्ताको सम्बन्धलाई केन्द्रमा राखेर त्रिकोणात्मक प्रेम र श्रीमान्-श्रीमतीबीचको झगडालाई प्रस्तुत गरिएको छ । टिजरको सुरुवात प्रभातपाल ठकुरीको ‘भ्वाइस ओभर’सँगै हुन्छ, जहाँ उनी नीति शाहसँग रोमान्टिक देखिएका छन् । भन त्यसको लगत्तै अर्की अभिनेत्री राजश्री थापा रोमाञ्चित हुँदै कसैको यादमा डुबिरहेकी देखिन्छिन् । अन्तिममा भने मुकुन भुसाल आक्रोशित हुँदै ऋचा शर्माको घाँटी अठ्याइरहेका छन् । टिजरमा देखाइएको दृश्यले फिल्म प्रेम र पारिवारिक द्वन्द्वमा आधारित रहेको संकेत गर्छ । अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्ममा विनोद न्यौपाने, गीता अधिकारी, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा, रोहित कार्की, नरेश पौड्याल, खड्ग बहादुर पुन मगर, सुन्दर धिताल, स्वस्तिका चौधरीलगायतका कलाकारहरूको पनि रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक लिम्बू स्वयंले तयार पारेका हुन् ।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको फिल्ममा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, मनोज चौलागाईंको पार्श्व संगीत तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ ।