Fursad Times आइतबार, भाद्र ०७, २०८३

मल्टीस्टारकास्टले भरिएको फिल्म ‘पाँच पाण्डव’को स्वरांकन कार्य सुरु गरिएको छ।बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा फिल्मको स्वरांकन सुरु गरिएको हो। गौशाला पिङ्गलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा फिल्मका सम्पूर्ण कास्ट एन्ड क्रूको सहभागिता रहेको थियो। तिहारमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको स्वरांकन मुख्य कलाकार हरिवंश आचार्यद्धारा सुरु गरिएको हो। निर्देशक वसन्त निरौलाका अनुसार प्राविधिक पक्षमा कुनै सम्झौता नगरी दर्शकलाई उत्कृष्ट साउन्ड अनुभव दिने तयारी गरिएको छ। फिल्म ‘पाँच पाण्डव’ काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको हो। फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलाले मुख्य भूमिकामा अभिनय गरेका छन्। त्यस्तै दीपाश्री निरौला, रमा थपलिया, प्रशान्त ताम्राकार, सरिता गिरी, विनोद न्यौपाने, इभा गिरी र सीता न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ। सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको फिल्म ‘पाँच पाण्डव’ सामाजिक कथावस्तुमा आधारित फिल्म रहेको निर्माण टिमले जानकारी दिएका छन। श्याम तामाङको छायांकन रहेको फिल्ममा सुप्रिम पराजुलीको सम्पादन, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बीजीएम तथा पुकार धिमालको भीएफएक्स रहेको छ। फिल्म ‘पाँच पाण्डव’ तिहारको अवसरमा प्रदर्शनमा आउने तयारीमा छ। फिल्मलाई आरआर फिल्मस्को ब्यानरले देशव्यापी वितरण गर्नेछ।