नबिन पन्त सोमबार, भाद्र ०८, २०८३

भक्तपुर । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६ – संस्करण ३ अन्तर्गत पाँच प्रतिभाशाली महिलाले प्रतिष्ठित ‘ब्राइडल क्विन २०२६’ को उपाधि आफ्नो नाममा लेखाएका छन्।

रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलाले ‘ब्राइडल क्विन २०२६’को उपाधि हासिल गर्दै आफ्नो प्रतिभा, आत्मविश्वास र व्यक्तित्वको उत्कृष्ट परिचय दिएका हुन्।

भक्तपुरको राधे–राधेस्थित हेरिटेज प्यालेसमा भदौ ६ गते भव्य रूपमा सम्पन्न समारोहमा पाँचै विजेतालाई सम्मानपूर्वक उपाधि प्रदान गरिएको थियो। कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सी.के.) राउत प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

नेपालको भाषा, संस्कृति, मौलिकता र राष्ट्रिय पहिचानलाई विशेष प्राथमिकता दिइएको यस कार्यक्रमको सुरुवात गंगा आरतीबाट गरिएको थियो। धार्मिक तथा आध्यात्मिक वातावरणसँगै प्रस्तुत गरिएको भव्य ब्राइडल फेसन शो, आकर्षक रनवे प्रस्तुति र आधुनिक कउचर डिजाइनले कार्यक्रमलाई थप ऐतिहासिक र अविस्मरणीय बनाएको थियो।

कार्यक्रमका बारेमा जानकारी दिँदै शाह स्टुडियो एन्ड कम्पनीका प्रमुख प्रबन्ध निर्देशक मोनु शाहले नेपाली मौलिक संस्कृति, परम्परा र आधुनिक फेसनबीचको सम्बन्धलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले ‘ब्राइडल कउचर रनवे’ आयोजना गरिएको बताए। उनले फेसन केवल पहिरनको प्रस्तुति नभई संस्कृति, पहिचान र आत्मविश्वासको सशक्त अभिव्यक्ति भएको उल्लेख गरे।

‘ब्राइडल क्विन २०२६’*को उपाधि जित्ने रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलालाई हार्दिक बधाई तथा उनीहरूको उज्ज्वल, सफल र गौरवमय भविष्यका लागि शुभकामना।