

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देशमा निम्त्याएको महाविपत्तिलाई मध्यनजर गर्दै एकपछि अर्को फिल्मले आफ्नो फिल्मको प्रदर्शन मिति स्थगित वा पोष्टपोण्ड गरिरहेका छन् । फिल्म ‘काकाकिकी’ र ‘माया भनेकै यस्तो हो’ पछि ‘बा: एक योद्धा’ पनि पूर्वघोषित मितिमा नआउने भएको छ । यो फिल्म कृष्ण जन्माष्टमीको अवसर पारेर यही भदौ १९ गते रिलिज हुने तयारीमा थियो । सोमबार निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेन्मेन्टको तर्फबाट वसन्त लम्सालले एक विज्ञप्ति जारी गर्दै देश विषम परिस्थितिसँग जुधिरहेको अवस्थामा फिल्म प्रदर्शन गर्नु उपयुक्त नदेखिएकाले हाललाई प्रदर्शन मिति स्थगित गर्दै अब क्रिसमस डेको छेको पारेर मंसिर २४ गते बिहीबारबाट प्रदर्शनमा आउने बताएका छन ।
निर्माता लम्सालले बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको पनि जानकारी दिएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्र नै शोकमा डुबेको यस विषम परिस्थितिमा एकजुट भई राहत र उद्धार कार्यमा आ(आफ्नो तर्फबाट सहयोग गर्न हामी देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध समेत गर्दछौँ ।’ संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा झरना थापा, दिव्यदेव पन्त, सुहाना थापा, माओत्से गुरुङ, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, शवी थापा, अनिल बुढाथोकी, अन्जन ढकाललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले सन्तानका लागि बुबाले गर्ने त्याग र संघर्षको कथा प्रस्तुत गरेको छ ।