

काठमाडौं । वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्र ‘सारथी’को टिजर सार्वजनिक गरिएको छ। निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर पारेर सोमबार, कात्तिक २ गते चलचित्रको १ मिनेट ७ सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरमा काउब्वाय ह्याट लगाएर हातमा लालटिन बोकी जङ्गलको अँध्यारो बाटोमा हिँडिरहेका डेब्यु अभिनेता गिरि विश्वकर्मा रहस्यमय रूपमा प्रस्तुत भएका छन्। गिरि र अभिनेत्री निरुता सिंहबीचको सम्बन्ध के हो? गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोधन गरेपछि ‘सारथी’को टिजरले दर्शकमाझ कौतूहल बढाएको छ।
कुमार गजुरेलको निर्देशनमा निर्माण भएको चलचित्रको टिजरमा लालटिन बोकेर जङ्गलतर्फ लागेका गिरिको रहस्यमय यात्रालाई देखाइएको छ। यात्राका क्रममा देखिने अपरिचित आकृति, अचानक भाग्ने घोडा र त्यसको पछि लाग्दा देखिने रहस्यमय दृश्यले टिजरप्रति दर्शकको चासो बढाएको छ।
टिजरको अन्त्यतिर निरुता सिंह देखिनु र गिरिले उनलाई ‘आमा’ भनेर सम्बोधन गर्नुले चलचित्रको कथाबारे विभिन्न प्रश्न उब्जाएको छ। के निरुता चलचित्रमा गिरिको आमाको भूमिकामा छिन्? उनीहरूबीचको सम्बन्ध कस्तो छ? चलचित्रको कथा मातृत्व, विछोड र पारिवारिक सम्बन्धको वरिपरि केन्द्रित छ? टिजरले यी प्रश्नको जवाफ खुलाएको छैन। यद्यपि, दृश्य र भावनात्मक संकेतमार्फत चलचित्रप्रति दर्शकको उत्सुकता जगाउने प्रयास गरिएको छ।
अनुप बरालको एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएका गिरि विश्वकर्मा रङ्गमञ्च हुँदै चलचित्रमा डेब्यु गर्दैछन्। लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एउटै चलचित्रमा देख्न पाउनु पनि ‘सारथी’को अर्को आकर्षण हो।
चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय छ।
किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन्। अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन्।
संकल्प भुजेलको छायांकन रहेको चलचित्रमा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन्। बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर सुन्न सकिन्छ।
श्याम कार्की कला निर्देशक र गोविन्द खड्का ड्रेस कोअर्डिनेटर रहेको चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ। ‘सारथी’ आगामी मंसिर ११ गते (नोभेम्बर २७) देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ।
टिजर हेर्नुहोस्: