

नायिका रेखा थापालाई दर्शकले सबैभन्दा बढी रुचाएको एक्सन भूमिकामा हो । फेरी एकपटक उनलाई एक्सन अवारमा देख्न पाइने भएको छ । यही बिहीबारबाट रिलिज लागेको फिल्म ‘छत्तीसको आँकडा’मा उनको एक्सन अवतार हेर्न पाइने भएको छ । आइतबार सार्वजनिक गरिएको झन्डै तीन मिनेट लामो ट्रेलरको सुरुवातमै रेखाको एक्सन अवतार देख्न सकिन्छ । उनी डीएसपीको भूमिकामा छिन् । ट्रेलरमा विशेषगरी रेखा र पूजा शर्माबीचको टसललाई देखाइएको छ । सम्बन्धले भने उनीहरू दिदीबहिनी हुन् । रेखाको आमासँग पनि सम्बन्ध सुमधुर नहुनुले फिल्म पारिवारिक सम्बन्धको उतारचढावमा आधारित रहेको अनुमान गर्न सकिन्छ । सवीर श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा रेखा र पूजासहित निरुता सिंह, पुष्प खड्का, महेश त्रिपाठी, निशा अधिकारी, नरेन खड्का, सुवर्ण थापा, रमेश चन्द सिडारी, गीत विष्टलगायतका कलाकारको पनि अभिनय छ । रेखा, पूजा र निरुता पहिलो पटक एउटै फिल्ममा देखिन लागेका हुन् । दुई पुस्ताका चर्चित अभिनेत्रीको यो सहकार्यले फिल्मप्रति दर्शकमा चासो बढाएको छ ।
रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा सवीर श्रेष्ठको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद, ईश्वर सिङ्केमेनाको छायांकन, बनिष शाह र रामप्रसाद चौधरीको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठले निर्माण गरेका हुन्