भक्तपुर डा. तारानाथ घिमिरे ‘धुर्कापानी’ को नयाँ गीत ‘दिनमा पनि रातमा पनि’ सार्वजनिक भएको छ। शनिबार डीआर सिर्जना संसारद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि डा. नवराज लम्सालले प्ले बटम थिचेर गीत सार्वजनिक गरेका थिए। गीतमा वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारीको स्वर र सङ्गीत रहेको छ। उक्त कार्यक्रममा बोल्दै वरिष्ठ कवि डा. लम्सालले गीतमा संवेदनामा बहुकोण रहेको बताए। उनले भने, ‘एउटा एउटा संवेदना टिपेर गीतको सुन्दर माला बनाइएको रहेछ।’ गीतको संख्या कति रेकर्ड भयो भन्नुभन्दा गुणस्तरीय गीत कालजयी हुनुपर्छ भन्ने उनको भनाइ छ। प्रेमको भावलाई वियोगान्तमक रुपमा रचना गरिएको गीत सबैको मन छुने शब्दहरुले भरिएको छ । समीक्षक डा. गीता त्रिपाठीले धुर्कापानीको गीतमा प्रतीकात्मक अर्थ खोज्ने ठाउँ धेरै रहेको बताइन्। गीतमा अनगिन्ती रुवाइ रहेको उनको भनाइ छ। उनले भनिन्, ‘गीतमा व्यक्त रुवाइले हामी सबैको संवेदनालाई हल्लाइदिएको छ। यो गीत महारोदनको समयमा लेखिएको जस्तो लाग्छ।’ त्रिपाठीले आँसुमा एउटा विरेचनको शक्ति भएकाले पनि गीतको मर्म सामान्यभन्दा विशेष रहेको बताइन्। उनले धुर्कापानीलाई दुःखान्त गीतकारका रूपमा चिनाइन्।