नबिन पन्त सोमबार, चैत्र ०९, २०८२

यस वर्षको ब्लकबस्टर फिल्म ‘आ बाट आमा’को अब दोस्रो श्रृंखला निर्माण हुँदैछ । अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले गत फागुनमा एक पोस्टरमार्फत सार्वजनिक गर्दै ‘आ बाट आमा २’को निर्माण घोषणा गरेको थियो । अहिले भने यस फिल्मका निर्देशक चन्द्र पन्त कलाकारहरू अनुबन्धित गर्ने प्रक्रियामा जुटेका छन् । सोमबार उनले पल र विपना थापासँग एकसाथ लिखित सम्झौता गरे । ‘आ बाट आमा’मा विपना र पल आमा-छोराको भूमिकामा थिए । दोस्रो भागमा पनि उनीहरू आमा-छोरा कै भूमिकामा देखिने जनाइएको छ । फिल्ममा अनुबन्धित भएपछि विपनाले मिडियासामु दोस्रो भागमा काम गर्दैगर्दा अझ धेरै जिम्मेवारी थपिएको महसुस भएको बताइन् । फिल्मलाई पहिलो भागभन्दा उत्कृष्ट बनाउनुपर्ने ठूलो चुनौती समेत सम्पूण टिमलाई रहेको उनको भनाइ छ । त्यस्तै, अभिनेता पल शाहले फिल्मको दोस्रो भागमा पनि आफूलाई विश्वास गरेकोमा निर्देशक पन्तलाई धन्यवाद दिए । उनले भने, ‘म औंलामा गन्न सकिने टिमसँग मात्र नजिक छु । कुनै निर्देशकसँग म यति नजिक भएको चाहिँ चन्द्र दाइसँग हो । उहाँले मलाई अभिभावक जसरी फिल्ममा काम गराउनुभयो । अब ‘आ बाट आमा २’मा पनि मलाई विश्वास गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु ।’ आगामी बैशाखमा छायांकन गरेर दशैंमा रिलिज गर्न लागिएको यस फिल्ममा पल र विपनाबाहेक अरू कलाकार निश्चित भएका छैनन् । फिल्मको पहिलो भागमा सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल लगायतको पनि मुख्य भूमिका थियो ।