नबिन पन्त मंगलबार, साउन २६, २०८३

अभिनेत्री नीता ढुंगानाको डेब्यू निर्देशकीय फिल्म ‘पार्वती’को नयाँ गीत ‘मेरी दिदी’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको कीर्तिपुर सिनेप्लेक्समा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले बाल गायक अशोक दर्जीको स्वरमा रहेको गीत दर्शकमाझ ल्याएको हो ।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा दिदीभाइको सम्बन्धलाई मुख्य विषय बनाएर रक्षाबन्धनको प्रसंग जोडिएको छ । टाढा गएकी दिदीलाई सम्झँदै भाइले गरेको बिलौना गीतमा सुन्न सकिन्छ । भिडियोमा नीता ढुंगाना र अशोक दर्जी देखिएका छन् । जनै पूर्णिमाको अवसर पारेर भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राज पंगेनी शर्मा, सिरु विष्ट, आशा पौडेल, राधिका कँडेल, राजेन्द्र नेपाली, सुवास गजुरेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । नीता फिल्म्सको प्रस्तुति रहेको फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन, एलिस कार्की र शिवम् रसाइलीको पार्श्व संगीत, प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत तथा रामजी लामिछानेको नृत्य निर्देशन संगीत रहेको छ ।