
काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठबीचको प्रेम सम्बन्धलाई लिएर धेरै पहिले देखिनै नेपाली चलचित्र वृत्तमा चर्चा हुँदै आएको थियो । विभिन्न् सार्वजनिक कार्यक्रममा होस् वा सामाजिक सञ्जालमा यी दुईको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी हुँदै आएको भए पनि, दुवैले लामो समयसम्म आफूहरुको सम्बन्धबारे खुलेर केही बोलेका थिएनन् । तर अब भने अभिनेता आकाश श्रेष्ठ स्वयंले अभिनेत्री करुणा श्रेष्ठसँगको प्रेम सम्बन्ध स्वीकार गरेका छन् भन्दा फरक नपर्ला । सोमबार आकाशले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत करुणासँगको सम्बन्ध सार्वजनिक गर्दै आफूहरू लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खुलाएका छन् ।
आकाशले करुणासँगका दुई तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘पाँच वर्षको हाम्रो साथ, पछाडि छोडिएका अनगिन्ती सुन्दर पलहरू, अझै बाँच्न बाँकी अनगिन्ती खुसीका क्षणहरू, अनि अनन्तसम्म सँगै रहने एउटा जीवन ।’
आकाशको यो अभिव्यक्तिले उनीहरूबीचको सम्बन्धबारे चल्दै आएको लामो समयदेखिको चर्चालाई औपचारिक रूपमा पुष्टि गरेको छ । विशेषगरी ‘पाँच वर्षको हाम्रो साथ’ भन्ने उनको भनाइले यो सम्बन्ध पछिल्लो समयको मात्र नभई लामो समयदेखि कायम रहेको समेत देखाउँछ । आकाश र करुणा दुवैले एउटै चलचित्रमा सहकार्य नगरेको भए पनि यी दुइले केही म्युजिक भिडियोहरुमा भने सँगै काम गरेका छन् । उनीहरूको भेट म्यूजिक भिडियोमा काम गर्ने क्रममा भएको थियो । त्यसपछि सुरु भएको उनीहरूको मित्रता बिस्तारै प्रेममा परिणत भयो । आकाश स्वयंले पाँच वर्षको साथबारे खुलेर उल्लेख गरेपछि उनीहरूबीचको प्रेम सम्बन्धमा कुनै रहस्य बाँकी रहेको छैन । आकाश र करुणा यसै वर्ष विवाह गर्ने योजनामा रहेको बताइन्छ । ‘सय कडा दश’बाट अभिनयमा डेब्यु गरेकी करुणा श्रेष्ठ पछिल्लो समय मोडलिङमा सक्रिय छिन् । सन् २०१६ मा ‘म त तिम्रै हुँ’ बाट करिअर थालेका आकाश ‘आबाट आमा २’को छायाकंन सकेर रिलिजको पर्खाइमा छन् ।