
हरि लम्सालको डेब्यू निर्देशकीय फिल्म ‘बा स् एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच साढे २ मिनेट लामो ट्रेलर दर्शकमाझ ल्याइएको हो । एउटा खुसीयाली परिवारमा आएको उतावचढावको कथा सार्वजनिक ट्रेलर समेटिएको छ । ट्रेलरको केन्द्रमा अभिनेता दिव्यदेव पन्तलाई देख्न सकिन्छ। दुई सन्तानको पिताको भूमिकामा रहेकाले उनले परिवारका लागि गरेको संघर्ष र त्यागलाई निक्कै नै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । छोरीको बिहेमा लागेको ऋणले कसरी एउटा मध्यमवर्गीय परिवार तहसनहस बनाउन सक्छ भन्ने ट्रेलरमा देखाउन खोजिएको छ । भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर प्रदर्शनमा आउन लागेको यस फिल्ममा दिव्यदेवसहित झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, सुप्रज्ञा शर्मा, शिशिर सिवाकोटी, सागर खनाल, अनिल बुढाथोकी, चन्द्र नेपाल, करण शाहलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई गायक वसन्त लम्सालले निर्माण गरेका हुन् । उनले यसअघि फिल्म ‘कर्मा’ बनाएका थिए । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्मातामा छन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हरि लम्सालको संगीत, सुरेन राईको कोरियोग्राफी, नवीन श्रेष्ठको ध्वनि संयोजन तथा रोमन बज्राचार्यको पार्श्व ध्वनि रहेको छ ।