
भदौ २६ गते हरितालिका तीजको छेको पारेर प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीतमा प्रेमिल भावको यस गीतमा सुरेश लामा र दुर्गा खरेलले स्वर दिएका छन् । भारतका चर्चित पर्यटकीय क्षेत्र दार्जिलिङ, मिरिक र सिक्किमका चिया बगानदेखि फुटबल मैदानसम्म छायांकन गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू पारस बम ठकुरी र दिव्या रायमाझी देखिएका छन् । भिडियोमा उत्सव दाहालको छायांकन तथा सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ । यसअघि सार्वजनिक गरिएको फिल्मको पहिलो गीत ‘दिलमा ठाउँ छ’ गीत दर्शकमाझ लोकप्रिय भइसकेको छ । गीतलाई युट्युबमा झन्डै ९० लाखले हेरिसकेका छन् भने टिकटकमा १० लाखभन्दा बढी भिडियो बनेका छन् । सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको फिल्ममा पारस र दिव्यासहित सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा प्रताप शमशेर राणा निर्माता, शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता तथा दुर्गा खरेल र शिशिर श्रेष्ठ सह(निर्मातामा छन् ।