
अभिनेता माओत्से गुरुङको निर्देशनमा बनेको फिल्म ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक झन्डै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
ब्रिटिस आर्मीबाट अवकास प्राप्त दिवंगत बुबाको पेन्सन पट्टामा आफ्नी आमाको नभइ अर्कै महिलाको नाम भएपछि उनलाई खोज्न एक पात्रले गर्ने संघर्षलाई ट्रेलरमा देखाइएको छ । त्यससँगै उनको प्रेम सम्बन्धमा आउने उतारचढाव र पारिवारिक समस्यालाई पनि ट्रेलरमा समेटिएको छ । फिल्मले लाहुरे परिवारको संघर्षको कथा प्रस्तुत गर्ने ट्रेलरले देखाउछ ।
यस फिल्ममा दयाहाङसहित सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, सोल गुरुङ, पुष्कर गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, राज थापा काउचा, यासिली लिम्बूलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
निर्देशक गुरुङ स्वयंको लेखन रहेको फिल्मका निर्माताहरू मीन कोन्मे गुरुङ, भोज बहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ हुन् । फिल्ममा सुशन प्रजापतिको छायांकन, कियर कोइचको सम्पादन, मनोज थापा मगर, शिव बराइली र सुरुङ गुरुङको संगीत, कमल बहादुर गुरुङको नृत्य निर्देशन तथा रोहित शाक्यको पार्श्व संगीत छ । फिल्म भदौ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।