

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवादेखि धादिङ−नुवाकोटसम्म ठूलो क्षति पुर्याएको छ । बाढीका कारण सयौ नेपालीले ज्यान गुमाएका छन भने हजारौँ नेपाली घरबारविहीन भएको अवस्थामा विभिन्न कलाकारहरूले आर्थिकदेखि आवश्यक विभिन्न सामग्री सहयोग गरिरहेका छन् । यस्तै सहयोग गर्नका लागि अभिनेत्री प्रियंका कार्कीले पनि आफ्नो पहलमा ठूलो मात्रामा जिन्सी सहयोग जुटाएकी छन् । उनले आइतबार सामाजिक सञ्जालमा सामान ‘प्याकिङ’ गरिरहेको भिडियो तथा तस्वीर पोस्ट गर्दै अब प्राप्त सामग्रीलाई प्रभावित क्षेत्रसम्म पुर्याउने बताएकी छन् । उनले लेखेकी छन्, ‘अब प्राप्त भएका सबै सामग्रीलाई आवश्यकताअनुसार राम्रोसँग ‘सोर्ट आउट’ गरेर, विशेषगरी अहिलेसम्म राहत पुग्न नसकेका प्रभावित क्षेत्रसम्म पुर्याउने हाम्रो प्रयास रहनेछ ।’ भिडियोमा उनले लत्ताकपडा पर्याप्त मात्रामा उपलब्ध भएको र अब खाद्यान्न तथा बत्ती सहयोग गरिदिन आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, ‘अब लुगा नपठाइदिनुहोला । बरु खाद्यान्न सहयोग गर्न सक्नुहुनेछ । अहिले रसुवा र नुवाकोटामा सोलार बत्तीहरू एकदमै आवश्यक रहेको खबर आएको छ । यी सामग्री सहयोग गरिदिनुभयो भने पीडितलाई ठूलो राहत हुनेछ ।’ उनी उक्त उपलब्ध सामग्री लिएर सोमबार त्रिशूलीभन्दा माथिको गाउँमा जाने तयारीमा थिइन् । तर, पानी परेर बाटो बिग्रिएपछि उनी काठमाडौंमै रोकिएकी छन् । मंगलबारसम्म त्यस क्षेत्रमा जाने अवस्था नभए सबै सामग्री काठमाडौंमा आर्मीलाई प्रदान गर्ने उनको योजना छ ।