Fursad Times शनिबार, भाद्र २०, २०८३

२६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक गरिएको छ । हिजो कृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको ३ मिनेट २५ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिएको छ । फिल्मकी मुख्य पात्र अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखेर सार्वजनिक गतिएको ट्रेलरमा घरेलु हिंसा भोगिरहेकी एक महिलाको कथा समेटिएको छ । परिवारको दबाबमा धनाढ्य युवकसँग विवाह भएपछि श्रीमानबाट भोग्नुपरेको शारीरिक तथा मानसिक यातना र त्यसबाट असह्य भएपछि उनले माता दुर्गाजस्तै उग्र बनेर बदला लिएको ट्रेलरमा देख्न सकिन्छ । विनयराज पौडेलको डेब्यू निर्देशनमा बनेको यस फिल्ममा न्यान्सीसहित रिस्ता बस्नेत, सुशील सिटौला, पुष्कर राउत, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, प्रीसा ढुङ्गाना, त्रिलोचन न्यौपानेलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताको रूपमा छन् । कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्ममा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, कर्णराज गिरीको संगीत, दिपेन बस्न्यातको छायांकन तथा गौतमराज खड्काको सम्पादन रहेको छ ।