

कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले फिल्मको कथा र फिल्ममा समावेश गरिएको कालखण्डको बारेमा जानकारी दिएको छ । सार्वजनिक गर्रिको ट्रलेर हेर्दा फिल्म ३०−४० को दशकको ग्रामीण परिवेशमा आधारित देखिन्छ । ट्रेलरमा फिल्मका मुख्य पात्रहरु अनमोल केसी र प्रिन्सी खतिवडालाई केन्द्रित गरिएको छ । काजी पात्रको भूमिकामा रहेका अनमोल गाउँमै पढाउने क्रममा प्रिन्सीसँग प्रेममा पर्छन तर, अनमोलको परिवार भने उनीहरूको सम्बन्धको पक्षमा छैन । ट्रेलरमा भुवन केसी र गरिमा पन्त पनि देखिएका छन् । उनीहरूको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सीले अभिनय गरेका छन् । बुबाको भूमिकामा देखिन अनमोलले जुँगा समेत पालेका छन् । भुवन केसीको निर्देशनमा बनेको फिल्ममा न्यान्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, रेअर राई, दीपक केसी, श्वेता मिश्र, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी, संगी अधिकारीलगायतका कलाकारको पनि अभिनय छ । सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा जीया केसी र भविष्य खड्का निर्मातामा छन् ।