नबिन पन्त बिहिबार, आश्विन ०१, २०८३

संगीतकार तथा निर्देशक टंक बुढाथोकी र बाल गायक असोक दर्जी बिचको सम्बधलाई लिएर बुढाथोकीले दिएको पछिल्लो अभिव्यक्तिले बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई पुनः चर्चामा ल्याएको छ। बुधबार ललितपुरको लबिम मलमा आयोजित फिल्म ‘झिँगेदाउ २’को प्रिमियरका क्रममा पत्रकारले “मन बिनाको धन ठूलो २” मा असोक हुने नहुने भनेर सोधेको प्रश्नमा टंकले अशोकबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

टंकको दिएको उक्त अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला अशोक आफैँले भने सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले टंकलाई नराम्रो नबनाउन र आफूलाई पनि गाली नगर्न आग्रह गरेका छन्। उनले बिहीबार फेसबुकमा लेख्दै टंकलाई आफ्नो जन्म दिने बुवा नभए पनि कर्म दिने बुवाका रूपमा सम्मान गर्ने बताएका छन्।

‘उहाँ मेरो जन्म दिने बुवा नभए पनि कर्म दिने बुवा हुनुहुन्छ। आफ्ना सन्तानलाई केही भन्न उहाँलाई छुट छ। त्यसैले उहाँ भिडियोमा आएर बोल्नुभएको विषयलाई लिएर उहाँलाई नराम्रो नबनाइदिनुहोस् र मलाई पनि गाली नगर्नुहोस्, प्लिज,’ उनले लेखेका छन्।

अशोकले टंकसँगको आफ्नो सम्बन्धलाई गुरु–शिष्य र अभिभावकको सम्बन्धका रूपमा प्रस्तुत गरेका छन्। उनले टंकलाई आफूले भगवान् र गुरुजस्तै मान्ने पनि उल्लेख गरेका छन्।

फेसबुक पोष्ट मार्फत नै अशोकले आफू अभिनीत फिल्म ‘पार्वती’ हेरेर आफ्नो र अभिनेत्री नीता दिदीको अभिनयबारे प्रतिक्रिया दिनसमेत टंकलाई आग्रह गरेका छन्। उनले भनेका छन ‘तपाईंले ‘पार्वती’ हेर्नुभएको छ कि छैन ? हेर्नुभएको छैन भने एकपटक हेरेर मेरो र नीता दिदीको काम कस्तो लाग्यो मलाई भन्नुहोला है। तपाईं त मेरो भगवान् र गुरुजस्तै हुनुहुन्छ। मलाई यति भन्ने अधिकार तपाईंलाई छ दाइ। आई लभ यू टंक दाइ,’ अशोकले लेखेका छन्।

अशोक बाल्यकालमै टंक बुढाथोकीको संरक्षणमा काठमाडौं आएका थिए। सडकमा गीत गाउँदै गरेको अवस्थामा भेटिएका अशोकलाई टंकले संगीत क्षेत्रमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका थिए अशोकले काठमाडौंमै टंककै साथमा बसेर कक्षा ८ सम्मको अध्ययन गरेका थिए। त्यसपछि टंकले उनलाई मुख्य भूमिकामा लिएर ‘मन बिनाको धन’ फिल्म निर्माण गरेका थिए। यही फिल्म निर्माण भरपछि यी दुईको सम्बन्धमा दूरी आएको बताइन्छ। पछिल्लो करिब एक वर्षदेखि अशोक झापास्थित आफ्नै घरमा बस्दै आएका छन्।