नबिन पन्त बिहिबार, आश्विन ०१, २०८३

काठमाडौं । चर्चित साहित्यिक कृति ‘एक चिहान’मा आधारित रंगमञ्चीय नाटकको स्पेसल शो यही शनिबार, असोज ३ गते आयोजना हुने भएको छ। सर्वनाम थिएटर, कालिका मार्गमा बेलुका ५ बजे हुने विशेष प्रदर्शनमा अभिनेत्री रस्मिला तामाङ नानीथकुको भूमिकामा प्रस्तुत हुँदैछिन्।

‘मन बिनाको धन ठूलो २’मा समेत आबद्ध तामाङ चलचित्र, म्युजिक भिडियो, लघु चलचित्रसँगै रंगमञ्चमा पनि सक्रिय छिन्। उनले यसअघि ‘मिलारेपा’ नाटकमा अभिनय गरिसकेकी छन्। अब ‘एक चिहान’मार्फत उनी नानीथकुको भूमिकामा प्रत्यक्ष दर्शकमाझ देखिन लागेकी हुन्।

हृदयचन्द्रसिंह प्रधानको चर्चित कृतिमा आधारित ‘एक चिहान’ कक्षा १२ को नेपाली पाठ्यक्रममा समेत समावेश छ। सामाजिक यथार्थ, वर्गीय विभाजन, श्रमजीवी जीवन र संघर्षका विषयलाई केन्द्रमा राखिएको नाटकलाई नयाँ पुस्ता तथा विद्यार्थीमाझ रंगमञ्चमार्फत पुर्‍याउने उद्देश्यले प्रस्तुति तयार गरिएको निर्माण पक्षले जनाएको छ।

नाटकको नाट्य रूपान्तरण आशिष श्रेष्ठले गरेका छन् भने निर्देशन विवेक न्यौपानेको रहेको छ। सहायक निर्देशनमा रिजन काफ्ले रहेका छन्। सिनेटोग्राफी स्टुडियोको प्रस्तुति तथा एक थिएटरको सहकार्यमा तयार भएको नाटकका निर्माता बिक्रम खनाल र आस्था श्रेष्ठ हुन्।

नाटकमा रस्मिला तामाङसँगै अनुभवी रंगकर्मी मदन थापासहित कोहिनुर विश्वकर्मा, निर्मल सुवेदी, युवराज तिमल्सिना, बिप्लव खड्का, सागर कँडेल, प्रबल जोशी, सरिता नेपाली, सतविशा ओझा, बिकाश बराइली, सबिता तामाङ र सदिक्ष्या कोइरालालगायत कलाकारको अभिनय रहेको छ।

शनिबार हुने स्पेसल शोका लागि टिकट शुल्क रु. ३०० तोकिएको छ। टिकट तथा बुकिङका लागि ९७०७७१४७५७ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

स्पेसल शो: असोज ३, शनिबार
समय: बेलुका ५ बजे
स्थान: सर्वनाम थिएटर, कालिका मार्ग, काठमाडौं
टिकट: रु. ३००
बुकिङ: ९७०७७१४७५७