

अनमोल केसी नेपालका सबैभन्दा महँगा अभिनेताका रूपमा परिचित छन्, । फिल्म ‘कृ’बाट सुरु भएको भएको उनको महँगो पारिश्रमिकको सिलसिला अहिलेसम्म पनि जारी छ । नेपालमा ५० लाख पारिश्रमिक लिने पहिलो अभिनेता अनमोल नै हुन् । पछिल्ला दुई फिल्म ‘जेरी अन टप’ र ‘बाटुलो जून’को सफलतापछि भने उनको पारिश्रमिक दोब्बरले बढेको चर्चा छ । उनी निकट स्रोतका अनुसार निर्माता सरोज न्यौपानेले आफ्नो आगामी फिल्म ‘जेरी: द लास्ट क्लाइम्ब’का लागि अनमोललाई ८० लाख रुपैयाँ पारिश्रमिक दिएका छन। यो ‘बाटुलो जून’ रिलिजअघि भएको सम्झौता हो । अनमोलले अब नयाँ फिल्ममा एक करोडमुनि सम्झौता नगर्ने जनाइएको छ । हालै एक फिल्मबाट उनलाई सो रकम बराबरको अफर समेत भइसकेको हल्ला छ । तर, अनमोलले भने एक करोड पारिश्रमिक अफर भएको कुरा स्वीकार गरेका छैनन् । शनिबार ‘बाटुलो जून’को हल भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो प्राथमिकतामा पारिश्रमिक नपर्ने बताए ।
निर्मातासँग आफूले कहिल्यै पारिश्रमिक नमाग्ने अनमोलले बताए । निर्माताले आफ्नो मार्केट भ्यालु हेरेर दिएको पारिश्रमिकमा नै आफू खुसी हुने उनको भनाइ छ । ‘पारिश्रमिक मैले माग्ने कुरा पनि होइन । निर्माताहरूले मेरो मार्केट भ्यालु र मेरा फिल्मको बक्स अफिस कलेक्सनलाई हेरेर दिने कुरा हो । निर्माताले मलाई जति पारिश्रमिकको योग्य ठान्नुहुन्छ, म त्यतिमै खुसी छु,’ उनले भने ।
लगातार सफल फिल्म दिइरहेका अनमोल अबको दुई वर्षका लागि ‘प्याक’ भइसकेका छन् । केही दिनमा फिल्म ‘ए मेरो हजुर ५’को बाँकी छायांकन सुरु गर्न लागेका उनी यसपछि सिनेमा आर्ट नेपालको नयाँ फिल्म ‘खसेको तारा’मा व्यस्त हुनेछन् । यीसँगै उनको पाइपलाइनमा ‘जेरी: द लास्ट क्लाइम्ब’, ‘फर्की फर्कीः बियोन्ड टाइम’ र ‘बिफोर वी मिट’ पनि छन् ।