नविन पन्त बुधबार, पौष ०४, २०८०

भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले उक्त आन्दोलन गर्ने निर्णय गरेको हो। पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। आन्दोलनको तयारीका लागि पुस, माघमा देशैभर सभा र तयारीका काम गरिने उनले बताए। राप्रपाले फागुनमा मेची(महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय समेत गरेको छ।

‘आन्दोलनका लागि समान विचार राख्ने दलहरू, उद्योगी, व्यवसायी, अभियान तथा धार्मिक संघ, संगठन, विभिन्न पेसाकर्मीहरू, बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहे सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपा हार्दिक आहृवान गर्दछ,’ उनले भने,

राप्रपाले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति समेतगठन गर्दै आन्दोलनको तिब्र तयारी थाल्ने भएको छ । समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू रहनेछन् । साथै संगठन विभाग प्रमुखसमेत रहनुभएका महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी गराए। कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरिएको छ भने प्रवक्ता श्रेष्ठको नेतृत्वमा प्रचार तथा प्रसार समिति गठन भएको छ। राप्रपाले भूगोल केन्द्रित जिम्मेवारीको समीक्षा गर्दै कार्यक्रमलाई चैतसम्म निरन्तरता दिने निर्णय गरेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसद्बबाट फिर्ता भई आन्दोलनलाई अघि बढाउने बताएका छन्। आइतबारदेखि बसेको पार्टी केन्द्रीय समिति बैठकपछि मंगलबार निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग उनले आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभई प्रतिनिधिसभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताए।