भक्तपुर — थाइल्यान्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा परि पाँच जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार बैंककको बाङ सुए जिल्लामा रहेको ‘ओर तो कोर’ बजारमा उक्त घटना घटेको हो, जहाँ आक्रमणकारीले दिउँसो १२ः३१ बजे बन्दुक प्रहार गरेका थिए । गोली प्रहार गरेपछि आक्रमणकारीले आफूलाई पनि गोली हान्दा उनको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । व्यक्तिगत विवादका कारण उक्त घटना घटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार आक्रमणकारी पहिले सोही बजारमा कार्यरत थिए र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोश राखेका थिए । उक्त जानकारी आक्रमणकारीको श्रीमतीबाट प्राप्त भएको प्रहरी अधिकारी सायाम बुनसोमले पत्रकारहरूलाई बताए । घटना भएको ‘ओर तो कोर’ बजार पर्यटकबीच अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ ।