नबिन शनिबार, साउन २५, २०८२

भक्तपुर ।  युवा अभियानको संयोजनमा ७ अगस्टदेखि १५ अगस्टसम्म सप्ताहव्यापी युवा लक्षित कार्यक्रम आयोजना हुने भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन गर्दै ३५ भन्दा बढी संस्थाको सहकार्यमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी  दिइएको हो । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ (अगस्ट १२) लाई लक्षित गरी राजनीति र युवा सहभागिता, जलवायु न्याय, मानसिक स्वास्थ्य, सामाजिक उद्यमशीलता, अन्तरपुस्ता संवाद लगायतका विविध विषयमा छलफल, प्रदर्शनी, र्‍याली तथा कार्यशालाहरू सञ्चालन गरिने युवा अभियानका अध्यक्ष पवन गौतमले जानकारी दिए । अध्यक्ष गौतमले दिएको जानकारी अनुसार उक्त कार्यक्रममा ५ हजार भन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहने अनुमान गरिएको छ । गौतमले भने, ‘यो केवल उत्सव मात्र होइन, नेपालको युवाशक्ति र सम्भावनाको घोषणा हो । हामी यसलाई दिगो राष्ट्रिय युवा आन्दोलनको उत्प्रेरकको रूपमा लिन चाहन्छौँ।’

साप्ताहव्यापी रुपमा चल्ने कार्यक्रमका मुख्य आकर्षणमा मानसिक स्वास्थ्य र युवा विषयमा भर्चुअल सत्र, राजनीतिमा युवा सहभागिता विषयमा काठमाडौँमा अन्तरक्रिया र अनलाइन प्रतियोगिता,आर्टिफिसियल इन्टेलिजेन्समा युवाको भूमिका विषयमा विशेष सत्र, सामाजिक उद्यमशीलता सम्बन्धी कार्यशाला, जलवायु न्याय सम्बन्धी उच्चस्तरीय प्यानल छलफल, तथा सौन्दर्य र फेशन क्षेत्रमा जीवनोपयोगी सीप तालिम समावेश छन् । त्यस्तै, नेपाल युनाइट्सको आयोजनामा अन्तरपुस्ता संवाद कार्यक्रममार्फत युवापुस्ता र अनुभवी पुस्ताबिच सामाजिक रूपान्तरणमा साझा भूमिकाबारे विचार–विनिमय गरिनेछ । कार्यक्रममा स्वयंसेवा, कला–संगीत, युवा नेतृत्व लगायतका सत्रहरू पनि रहनेछन् । कार्यक्रममा राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल, युथ एड्भोकेसी नेपाल, सोसियल इम्प्याक्ट, क्याटालिस्ट नाउ,
नेपाल डेभलपमेन्ट इनिसिएटिभ, राइज अप फाउन्डेसन नेपाल,  ह्युमन राइट्स फिल्म सेन्टर, उन्नति,आदार नेपाल, युवालय,  अन्तर्राष्ट्रिय गैसस संघ, डेभपल्स लगायतका २५ भन्दा बढी संस्थाहरूको सहभागिता रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।