नबिन पन्त मंगलबार, भाद्र २४, २०८२

भक्तपुर — हिजो सोमबार माइतीघर मण्डलमा देखिएको दृश्य सामान्य प्रदर्शन मात्र थिएन, यो राष्ट्रको भविष्यले भ्रष्टहरुलाई दिएको एउटा चेतावनी पनि थिए। हातमा प्लेकार्ड बोकेका, अनुहारमा असन्तोष र साहस प्रकट गरेका युवायुवतीले भ्रष्टाचारको अन्त्य र राजनीतिक परिवारको सम्पत्तिमा पारदर्शिता कायम गर्नुपर्ने, साथै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाएर डिजिटल स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने मागलाई जोड्दै आफ्नो वुलन्द आवाज उठाएका थिए । यी माग मात्र होइनन्, युवाले उठाएका प्रत्येक नारा, प्रत्येक कदम नै भविष्यको दृष्टिकोण हो– राष्ट्रमा पारदर्शिता, स्वतन्त्रता र न्यायको सुनिश्चितता चाहिएको संकेत समेत हो।

यही माग र आदर्शका लागि जेन-जी पुस्ताहरूले सडकमा उभिएर आवाज उठाएका छन् । यही कारण यो प्रदर्शन केवल विरोध होइन, युवाको विद्रोह बनिसकेको छ । देशका हरेक सहरहरुमा यहि आवाज उठि रहेको छ । जेन–जी पुस्ताका युवायुवतीहरूको प्रदर्शनमा देखिएका मागहरु कुनै असम्भव सपना होइनन् । बरु, यी माग आजको नेपाली समाजको गहिरो आकांक्षा हुन् । उनीहरूले स्पष्ट सन्देश दिएका छन्—पुरानो शैलीको राजनीति, नातावाद र ठेकेदारीमा अडिएको शासन अब टिक्दैन । काम गर्ने उमेरका लाखौं युवालाई परदेशमा पठाएर मुलुकभित्रै अवसर नदिने संरचना उनीहरूले अस्वीकार गरेका छन् । युवापुस्तालाई बुझ्न सरकारलाई सजिलो छैन । किनभने उनीहरू केवल सडकमा मात्र होइन, डिजिटल संसारमा पनि उभिएका छन् । फेसबुक, एक्स वा टिकटकमा उठेका विचार, असन्तोष र मागहरू अन्ततः सडक, संसद् र मतदान केन्द्रसम्म पुग्छन् ।