नबिन पन्त सोमबार, कार्तिक २४, २०८३

नेपाली चलचित्र ‘सारथी’को नयाँ गीत ‘मयाली’ सार्वजनिक भएको छ। आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले आफ्नो सांगीतिक प्रस्तुति दर्शकमाझ ल्याएको हो। म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ। गीतका शब्द तथा संगीत प्रशान्त शिवाकोटीकै हुन्। माथिल्लो म्याग्दी क्षेत्रको मौलिक लोकलय, सांस्कृतिक पहिचान र स्थानीय परिवेशलाई समेटेर तयार पारिएको ‘मयाली’ गीतको भिडियोमा अभिनेता गिरी विश्वकर्मा र अभिनेत्री गायत्री जोशीलाई देख्न सकिन्छ। भिडियोमा उनीहरूको अभिनय तथा नृत्यमार्फत स्थानीय परिवेश र प्रेमभावलाई प्रस्तुत गरिएको छ। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने छायांकन गोपाल रायाले गरेका हुन्। गीतमा बाँसुरीमा रत्न विक, सारङ्गीमा मनीष गन्धर्व, मादलमा पोषण मगर र गितारमा पुरस्कार खड्काले साथ दिएका छन्। विशम आचार्यले संगीत उत्पादन गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ मुम्बईस्थित समिक साउन्डले गरेको छ। ‘मयाली’ माथिल्लो म्याग्दी क्षेत्रको सांगीतिक मौलिकता र सांस्कृतिक पहिचान बोकेको विशिष्ट गीत हो। चलचित्रमार्फत यस क्षेत्रको लोकलय, भेषभूषा, रहनसहन र प्राकृतिक परिवेशलाई दर्शकमाझ पुर्‍याउने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ। कुमार गजुरेलको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘सारथी’ किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भएको हो। चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रमा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माताका रूपमा रहेका छन्। बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता हुन् भने अमिर के.सी.ले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्। चलचित्रमा नेपाली चलचित्र क्षेत्रका अनुभवी कलाकार निरुता सिंह र उत्तम प्रधानसँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुइँकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायतको अभिनय रहेको छ। संकल्प भुजेलको छायांकन रहेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्। राजु खतिवडा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् भने यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशक हुन्। माथिल्लो म्याग्दीको गुर्जा क्षेत्रलाई मुख्य छायांकनस्थल बनाइएको चलचित्र ‘सारथी’ले नेपाली मौलिक परिवेश, सामाजिक कथावस्तु र स्थानीय संस्कृतिलाई पर्दामा उतार्ने प्रयास गरेको छ। आगामी मंसिर ११ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने चलचित्रले दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढिरहेका बेला सार्वजनिक ‘मयाली’ गीतले चलचित्रको प्रचारप्रसारलाई थप गति दिने अपेक्षा गरिएको छ। चलचित्र ‘सारथी’को गीत ‘मयाली’ हेर्नुहोस्