

कात्तिक ६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी ५’ले घरेलु बक्स अफिसमा १२ करोडको आँकडा पार गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरण अनुसार फिल्मले कात्तिक २२ गतेसम्म ४ लाख ५ हजार ८८४ वटा टिकट बिक्री गर्दै १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ ग्रस कमाएको छ । ‘कबड्डी ५’पछि दसैँका फिल्ममा ‘आ बाट आमा २’ले झन्डै ७ करोड नजिको ब्यापार गर्दै दोस्रो सर्वाधिक कमाइ गरेको छ । २२ कात्तिकसम्म फिल्मको २ लाख ३७ हजार ३०७ वटा टिकट बिक्री भएका छन् । यस्तै ‘छ माया छपक्कै २’ भने ३ करोड ४२ लाख २५ हजार ९४५ रुपैयाँ ग्रस कमाउँदै तेस्रो स्थानमा छ । ‘१२ गाउँ २’ २ करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँ ग्रस व्यापारसहित चौथो स्थानमा छ ।
दसैं रिलिज भएका यी चार फिल्म बाहेक ‘गौँथली’ले २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ, ‘पेन्सन पट्टा’ले १० करोड ३३ लाख ७४ हजार ८७८ रुपैयाँ र ‘बाः एक योद्धा’ले ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको बक्स अफिस रिपोर्ट सिनेपाःमा उल्लेख छ । यसमध्ये ‘गौँथली’ इतिहासकै दोस्रो र यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्म हो ।