नबिन पन्त बिहिबार, भाद्र २५, २०८३

आफ्नी बहिनी हराए पछि खोजीमा निस्किएका दाजुको कथामा आधारित फिल्म “काल्माण्डू”को कथा अपराध, अपहरण, मानव तस्करी र हत्याको डरलाग्दो खेल मा आधारित रहेको छ । एक्सन, थ्रिलर र सस्पेन्सको शैलीमा प्रस्तुत गरिएको चलचित्र ‘कालमाण्डू’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

‘राधा’ बोलको गीत सार्वजनिक निर्माण टिमले चलचित्रको गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। अपराध र रहस्यले भरिएको कथाबीच ‘राधा’ले चलचित्रमा प्रेमको फरक पाटोलाई समेत प्रस्तुत गरेको निर्माण पक्षको दाबी छ। सम्राट न्यौपानेको स्वर तथा संगीत र रमेश देवकोटाको शब्द रहेको गीतको भिडियोमा अनिलराज पौडेल र रोशनी कार्की राधा–कृष्णको भूमिकामा देखिएका छन्। पुनम श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियो पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका हुन्।

मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन सयनम अधिकारीले गरेका हुन्। निर्देशक अधिकारीका अनुसार काठमाडौंको बाहिरी चमकभित्र लुकेको अपराधको संसार, मानव तस्करी, अपहरण र हत्याको जाललाई चलचित्रले पर्दामा उतारेको छ।

चलचित्रको मूल कथा एक दाजुको बहिनीप्रतिको प्रेम र खोजीबाट अघि बढ्छ। बहिनीलाई खोज्दै जाँदा उनी अपराधीहरूको संसारमा प्रवेश गर्छन् र आफ्नो परिवारलाई जोगाउन अपराधसँगै खतरनाक युद्ध गर्नुपर्ने अवस्थामा पुग्छन्। चलचित्रमा गजित बिष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।

काठमाडौं, ललितपुर, भक्तपुर तथा पर्साको ठोरीमा छायांकन गरिएको चलचित्रका निर्माता कमल थिङ हुन्। प्रोडक्सन व्यवस्थापन मिलन कटवाल र शम्भु श्रेष्ठले सम्हालेका छन् भने चलचित्रको वितरण सिंहदेवी प्रोडक्सनले गर्नेछ।

https://youtu.be/_pw5PBhj8ww?si=Ry6wm898-v7jFIvu