नबिन पन्त सोमबार, भाद्र १५, २०८३

भदौ १२ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ पूर्वघोषणा गरे अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ । सोमबार फिल्मकी निर्देशक तथा अभिनेत्री नीता ढुंगानाले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ११ लाख ३ हजार २७० रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् । फिल्मले पहिलो दिन ९शुक्रबार० २५ लाख ९३ हजार रुपैयाँ ग्रस व्यापार गरेको थियो । त्यसबाट हलको सेयर, ट्याक्स र वितरकको कमिसन कटाएर निर्माताले पाउने सम्पूर्ण रकम कोषमा सहयोग गरिएको हो । फिल्म प्रदर्शनको आउनु भन्दा अघिल्लो दिन नीताले पत्रकार सम्मेलन गर्दै फिल्मको पहिलो दिनको कमाइ रसुवा बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेकी थिइन् । अर्थमन्त्रीलाई फिल्मको पहिलो दिनको कमाइ हस्तान्तरण गर्दै नीताले भनेकी छन्, ​‘सिनेमा हलसम्म आएर तपाईंहरूले दिनुभएको माया र विश्वास बिना यो पवित्र कदम सम्भव थिएन । यो सहयोग हामीले मात्र होइन, ‘पार्वती’लाई माया गर्ने तपाईं सम्पूर्ण दर्शकहरूले गर्नुभएको हो । यसका लागि हामी हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।’उक्त सहयोगसँगै नीताले बाढीपीडितका लागि अर्को प्रतिबद्धता पनि जनाएकी छन् । उनले भनेकी छन्, ‘दुःखमा परेका दिदीबहिनी तथा दाजुभाइहरूको आँसु पुछ्ने दायित्व हामी सबैको हो । त्यसैले फिल्म ‘पार्वती’ले देश तथा विदेशको सम्पूर्ण प्रदर्शन अवधिभर गर्ने कुल ग्रस आम्दानीबाट थप ५ प्रतिशत रकम बाढीपीडितको राहतका लागि सहयोग गर्ने घोषणा गर्दछौँ ।’

नीताले फिल्म प्रदर्शनअघि नै व्यक्तिगततर्फबाट प्रधानमन्त्री राहत कोषमा १ लाख रुपैयाँ सहयोग समेत गरिसकेकी छन् । फिल्मका मुख्य कलाकार अशोक दर्जीले पनि पार्वती फिल्बाट पाएको आफ्नो पारिश्रमिकबाट २५ हजार रुपैयाँ कोषमा जम्मा गरेका छन् । दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको फिल्मले आइतबारसम्म एक करोड हाराहारी व्यापार गरिसकेको छ । ‘गौँथली’पछि नेपाली फिल्मले गरेको यो दोस्रो ठूलो कमाइ हो । तर, आइतबारबाट फिल्मको व्यापारमा गिरावट आएको देखिए पनि ‘वर्ड अफ माउथ’ले आगामी दिनमा व्यापार बढ्नेमा निर्माण पक्ष आशावादी छ ।