नबिन पन्त आइतबार, भाद्र १४, २०८३

चलचित्र विकास बोर्डबाट दिनेशराज दाहाल ९दिनेश डिसी० २ वर्षे कार्यकाल पूरा गरेर विदा भएका छन् । शुक्रबार एक कार्यक्रमका बीच बोर्डका सदस्य सचिव सविन सिंह चौधरी, बोर्ड सदस्य सन्तोष बाबु लोहनी तथा कर्मचारीहरूले मायाको चिनो प्रदान गर्दै उनलाई विदाइ गरेका हुन् । दिनेश बोर्डका १८औं अध्यक्ष हुन् । २०८१ भदौ १३ गते एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो । त्यसबेला उनी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत थिए । तत्कालीन प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध भएकै कारण उनले बोर्ड अध्यक्षमा नियुक्ति पाएका थिए । यद्यपि, उनको दुई वर्षे कार्यकाल अन्य अध्यक्षहरुको तुलनामा सफल भएको मानिएको छ ।

बोर्ड अध्यक्षमा नियुक्त भएयता उनले विभिन्न गतिविधिमार्फत बोर्डलाई चलायमान बनाएका थिए । साप्ताहिक रूपमा रियल टाइम बक्स अफिस रिपोर्ट सार्वजनिक देखि लिएर फिल्मकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रम, बोर्डका कामहरू ‘डिजिटलाइजेसन’, ‘स्टोरी बैंक’ स्थापना, २५ वर्षका २५ धेरै कमाउने फिल्मलाई सम्मानजस्ता कार्य उनको कार्यकालका महत्वपूर्ण उपलब्धि मानिन्छन् । बोर्डको अध्यक्षबाट दिनेश डिसी विदा भएसँगै अध्यक्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टी निकट फिल्मकर्मीहरूले लबिङ सुरु गरिसकेको बताइएको छ । दिनेशले पनि फेरि एकपटक अध्यक्षमा दोहोरिने इच्छा देखाएको निकट स्रोतको दाबी छ । यसरी विभिन्न अडकलबाजि भै रहेको अवस्थामा, फिल्मवृतमा भने खगेन्द्र लामिछाने र मनोज पण्डितको नाम चर्चा भएता पनि खगेन्द्रले यसअघि नै बोर्ड अध्यक्ष नहुने घोषणा गरिसकेका छन् ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण यतिबेला सरकारको ध्यान उद्धार, राहत र पुनर्निर्माणमा केन्द्रित भएकाले बोर्ड अध्यक्ष नियुक्ति भदौमा हुने सम्भावना न्यून देखिन्छ । बोर्डको तालुकवाला निकाय सञ्‍चार मन्त्रालयले आवेदन आह्वान गरेपछि मन्त्रिपरिषद्को बैठकबाट अध्यक्ष नियुक्त हुने प्रावधान छ ।