नबिन पन्त बुधबार, आश्विन ०७, २०८३

अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ २’को टिजर सार्वजनिक गरिएको छ । झन्डै दुई मिनेट लामो टिजरमा संवादभन्दा धेरै विराज र उनका छोरा समिरको एक्सन देखाइएको छ । सार्वजनिक गर्रिको टिजरमा कथावस्तु भन्दा पनि एक्सन दृश्यहरु कस्ता छन् भनेर दर्शकलाई जानकारी दिनु मात्र उद्देश्य देखिन्छ । टिजरमा समीर भट्टका एक्सन दृश्यहरूलाई प्राथमिकतामा राखिएको छ । टिजरको सबैभन्दा रोचक पक्ष भने विराज र समीर एकसाथ देखिएको दृश्य हो, जहाँ उनीहरूलाई दुई शक्तिको रूपमा चिनाउँदै युद्धको फैसला दुईमध्ये एउटाको अन्त्यले गर्ने उद्घोष छ । टिजर हेर्दा यसपटक फिल्ममा विराज र समीरबीच नै टकराव हुने संकेत गर्छ ।

असोज ३० गतेबाट प्रदर्शन हुने यस फिल्ममा विराज र समीरसहित अनुप विक्रम शाही, कनिज कोइराला, खुशी कार्की, वर्षा इटानी, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी, अर्जुन आचार्यलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मकी निर्माता सरस्वती भट्ट हुन् ।

फिल्ममा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरणको पार्श्व संगीत ९बीजीएम० तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ । यो फिल्म २०८१ सालमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’को सिक्वेल हो ।