

नेपालमा फिल्म नगरिमा यदि कुनै अभिनेता जुँगाका कारण परिचित छन् भने ती अभिनेता हुन भुवन केसी हुन् । जुँगा बिना सम्भवतः भुवनले कुनै पनि फिल्म खेलेका छैनन् । उनकै जुँगाको स्टाइललाई पछयाउँदै छोरा अनमोल केसी फिल्म ‘बाटुलो जून’मा देखिने भएका छन् । शुक्रबार सार्वजनिक टिजरमा उनको जुँगासहितको लुक देखाइएको छ । झन्डै दुई मिनेट लामो टिजरले फिल्मको कथा र परिवेशबारे जानकारी दिएको छ । टिजरको सुरुवात भुवन केसीबाट हुन्छ, जहाँ उनी आफ्नो जवानी उमेरको प्रेम सम्झेर भावुक देखिन्छन् । त्यसपछि अनमोल र प्रिन्सी खतिवडाबीचको प्रेमलाई देखाइएको छ । सार्वजनिक टिजरले फिल्ममा अनमोल बुवा भुवनको युवावस्थाको भूमिकामा रहेको प्रस्ट पार्छ ।
‘बाटुलो जून’ नेपाली समाजको ३०(४० को दशकको प्रेमकथामा आधारित फिल्म हो । फिल्मले एक जोडीको आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली, रहनसहन र प्रेम गर्ने तौरतरिकालाई पर्दामा उतार्ने प्रयास गरेको छ । भुवन केसीको निर्देशनमा बनेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी अभिनेत्री गरिमा पन्तसँग बाँधिएको छ । भुवन र गरिमाको युवावस्थाको भूमिका अनमोल र प्रिन्सीले निर्वाह गरेका छन् । उनीहरूसहित फिल्ममा प्रकाश घिमिरे, रेअर राई, न्यान्सी खड्का, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, दीपक केसी, श्वेता मिश्र, शिशिर सिवाकोटीलगायतको पनि अभिनय छ । तिहारको अवसर पारेर आगामी कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन तथा रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ । फिल्ममा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रूपमा छन् । फिल्मलाई जीया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा सह(निर्मातामा छन् ।