

फिल्म ‘छ माया छपक्कै २’ को बुधबार ‘मायामा एक्सपायरी डेट हुँदैन’ गीत सार्वजनिक गरिएकोछ । गीत सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको कथासारबारे जानकारी दिएका छन ।
गीतको भिडियोमा दीपकराज र केकी अधिकारीलाई श्रीमान्−श्रीमतीको रूपमा प्रस्तुत गरिएको छ । भिडियोको बीचमा भने दीपक र सनिशा भट्टराईबीचको प्रेमलाई देखाइएको छ । केकी र सनिशा एकसाथ गर्भवती भएको दृश्यले झन यश फिल्मको कथाबारे थप पर्दा खोलेको छ । यसबाट फिल्मको कथा विवाहेत्तर सम्बन्धमा आधारित रहेको प्रस्ट देखिन्छ ।
सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत छ । दीपक शर्मा तिनै संगीतकार हुन्, जसले ‘छक्का पञ्जा’ श्रृंखलाका चर्चित गीतहरू ‘देखन चम्पा’, ‘पहिलो नम्बरमा’ र ‘दर्शन सलाम’ जस्ता सुपरहिट गीतहरु तयार पारेका थिए । उनै संगीतकारको गीत भएकाले ‘मायामा एक्सपायरी डेट हुँदैन’ पनि लोकप्रिय हुने अपेक्षा गरिएको छ । भिडियोको कोरियोग्राफी भने किरण थापाले गरेका हुन् ।
दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपक, केकी र सनिशासहित निर्मल शर्मा, कर्मा, जितु नेपाल, रिहान गिरीलगायतको अभिनय छ । लामो समय देखि अमेरिकामा बस्दै आएका केदार घिमिरे (माग्ने बुढा) केही दिनअघि अमेरिकाबाट नेपाल आएर फिल्ममा अभिनय गरेका छन् । फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।