Fursad Times आइतबार, जेठ ०२, २०७८

भक्तपुर – विस्वभर फैलिएको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले महामारी विरुद्ध लड्नका लागी थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै गृहकार्य गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बसेको विशेष बैठकले सङ्क्रामक रोग ऐन २०२० का प्रावधानले मात्र अहिलेको महामारी रोक्न नसक्ने भएकाले आवश्यक तयारी गर्न मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको हो।

बैठकमा अहिले नेपालमा तिब्र गतिमा बढदै गएको कोरोना महामारी कम गर्न अत्यावश्यकीय सामग्री खास गरी अक्सिजन प्लान्ट र खोपलगायत स्वास्थ्य सामग्रीको तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई अझ जागरुकका साथ काम गर्न निर्देशन गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । खोप र अक्सिजनको तत्काल व्यवस्थान गर्न विद्यमान कानूनी अड्चन र बाधा हटाउँदै अघि बढ्ने पनि निर्णय गरिएको छ । नेपालमा प्रयाप्त मात्रामा अक्सिजन नपाएर मानिसले ज्यान गुमाई रहेको बेला त्यसको अन्त्यका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै बैठकपछि मन्त्री ज्ञवालीले भने, “तयारीका आधारमा रोगको प्रकृति र आक्रामकता दुवै उच्च भएकाले गएका दुई हप्ता हाम्रा लागि निकै कठिन रह्यो, अब त्यो कठिनाइ विस्तारै कम हुँदै जान्छ भन्ने विश्वास गरिएको छ।” बैठकमा चीन र ओमानबाट केही अक्सिजनका सिलिण्डर ल्याइएको तथा अझै पनि आउने क्रम जारी रहेको बताउँदै सरकारले अब केही दिनपछि अक्सिजनको समस्या हट्ने विश्वास लिएको छ भन्दै प्रधानमन्त्रीले बताए साथै प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर वा आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जान नदिने ढंगले कार्यसम्पादन गर्न निर्देशन समेत दिए।

बैठकमा ओलीले भने, “प्रक्रिया झण्झटिला छन् भने तिनलाई छोट्याएर हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि जेजे गर्नुपर्छ त्यो गर्नुस्, आवश्यक कानून र प्रक्रिया मिलाएर हरहालतमा नागरिकको जीवन रक्षा होस्।”

बैठकले झञ्झटिलो प्रक्रिया हटाउनका लागि कानूनी प्रबन्ध तथा खोपलगायत अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न र ऐनमा थप सुधार गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको बताइएको छ।

https://youtu.be/bBw-by5iItQ