भक्तपुर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको सम्बन्धमा धेरै पहिले दरार आएकोे भएता पनि हालको अवस्थामा यो विवाद सतहभन्दा गहिरो तहमा पुगेको प्रष्ट देख्न सकिन्छ। केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले “विद्या भण्डारीको प्रवक्ता बन्नेलाई कारबाही गर्ने” कडा चेतावनी दिए पछि पार्टीभित्र भण्डारीको विषयमा खुलेर बोल्न कोही पनि तयार देखिएका छैनन्। आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ’, भण्डारीले भनेकी छन् । पार्टी बैठकमा विगतमा भण्डारीको पक्षमा खुलेरै बोल्ने केही नेताहरू यसपटक भने प्रधानमन्त्री ओलिको चेतावनी पछि शान्त र सतर्क देखिए। उनको पक्षमा बोल्ने नेताहरु मध्ये एक नेताले भने, “हामीले बैठकमा भण्डारीको भूमिकाबारे केही बोल्यौँ तर खुलेर होइन, ओलीजीको चेतावनीपछि डरको माहोल छ।” यसबीच पूर्वराष्ट्रपति भण्डारी भने दृढ अडानमा देखिएकी छन्। मंगलबार भंगालस्थित निवासमा केही पत्रकारहरूसँगको अनौपचारिक कुराकानीका क्रममा मा उनले भनिन्, “म माझकिरातकी छोरी हुँ, खुट्टा कमाउदिनँ। म राजनीतिमा आइसकेँ।” उनले आफूले २०३५–३६ सालदेखि एमालेमा योगदान दिएको र अहिलेको आलोचना कुनै व्यक्तिगत महत्वाकांक्षा नभएको दाबी गरिन्। साथै भण्डारीले एमकाले पार्टी भित्रको गुटबन्दी नेतृत्वकै तहबाट सुरु भएको आरोप लगाइन्। “प्रदेश–प्रदेशमा गुट गठन, नेताहरूलाई बोल्न नदिने, डरको वातावरण सिर्जना गर्ने काम नेतृत्वबाटै भइरहेको छ,” उनको भनाइ थियो। यसबाट पनि के प्रष्ट हुन्छ भने एमाले भित्रै ओलिको नेतृत्वमा धेरै नेता कार्यकर्ता खुशी छैनन । भण्डारीले ओलीमाथि आरोप लगाउँदै ओलिले नेतृत्वमा अरूलाई स्थान दिन नचाहने समेत बताइन। भण्डारीको राजनीतिक पुनः प्रवेशले एमालेभित्र गहिरो मतभेद र असहजता सिर्जना गरिरहेको छ। ओली नेतृत्वले कडा चेतावनी दिइरहे पनि भण्डारी अझ सशक्त रूपमा अगाडि बढ्ने संकेत दिँदै छिन्। यसले पार्टीभित्रको शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्न सक्छ।