भक्तपुर । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो । अहिले बजेट स्वीकृत भइसक्दासमेत सो पार्टीबाट नयाँ मन्त्री आउन सकेका छैनन् ।
एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्यमन्त्री विरोध खतिवडा, र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय तीन सातादेखि गरे पनि उनिहरुले मन्त्री पद छोडन नमानेपछि भाँडभैलो भएको हा । पार्टीले मन्त्री फिर्ता गर्ने निर्णय गरेको १८ दिन बितिसक्दा समेत मन्त्री सिफारिस भएकाले जिम्मेवारी पाएका छैनन् । त्यसबेला एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमै ‘आफ्नो पार्टीका मन्त्री फिर्ता बोलाउने’ निर्णय गराएको बताए पनि उनि सफल हुन सकि रहेका छैनन । पार्टीको सो निर्णय कार्यान्वयन गराउन अध्यक्ष नेपाललाई नै निकै हम्मे पर्दै गएको पार्टीका नेताले बताएका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहयोग नगर्दा नेपाल अप्ठ्यारोमा परेको र पार्टी निर्णय कार्यान्वयन गराउन नसकेको एकीकृत समाजवादीका केहि नेताहरुको भनाइ छ ।
हाल मन्त्री रहेका नेताको एउटा समूह र मन्त्री सिफारिस भएकाको अर्को समूह भएका कारण ‘दुई वटा पार्टी’जस्तो अवस्था रहेको र यसले गम्भीर समस्या निम्तिन सक्ने निकट स्रोतले जानकारी दिए । बुधबारको छलफलमा मन्त्री रामकुमारी झाँक्री र प्रेम आलेले आफूहरूले राम्रो काम गरिरहेका बेला ‘किन हट्नुपर्ने ? भनेर उनीहरूले नेपालसँग प्रश्न गर्दै मन्त्रीबाट हटाउने निर्णय’ पुनर्विचार गर्न आग्रह गरेका छन् । मन्त्री झाँक्रीले मन्त्री फिर्ता बोलाउने निर्णय संसदीय दलबाट नगरेर किन सचिवालयबाट गरेको भन्दै प्रश्न गरेकी थिइन् । राजधानी दैनिकबाट