

भक्तपुर । बहुप्रतिक्षीत नेपाली चलचित्र ‘जदौ’ आज शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको यो चलचित्रले प्रदर्शनको पहिलो दिन बिहानी शोहरूबाटै दर्शकको सकारात्मक र उत्साहजनक प्रतिक्रिया पाएको छ। निरन्तर पानी परेता पनि फिल्म हेर्न दर्शकको राम्रो उपस्थिति रहेको छ । हलबाट निस्किएका दर्शकहरूले चलचित्रको कथा, संवाद र गीतको विशेष प्रशंसा गर्दै चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। देशभरका हलहरूमा करिब ५० वटा शो पाएको यस चलचित्रको अग्रिम तथा तत्कालीन बुकिङ (टिकट बिक्री) पनि धमाधम भइरहेको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘U’ (युनिभर्सल) प्रमाणपत्र पाएको यस चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। २ घण्टा १० मिनेट १७ सेकेन्ड समयावधि रहेको यस चलचित्रलाई शान्ता पुडासैनीले निर्माण गरेकी हुन्।
चलचित्रमा नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल तथा ऋचा शर्मा लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।