नबिन पन्त बिहिबार, भाद्र ०४, २०८३

निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक्सन जनरामा बन्न लागेको फिल्मको पोस्टरमा अभिनेत्री द्वय पूजा शर्मा र कविता नेपाली अनुहारमा रिसको आवेगका साथ आमनेसामने देखिएका छन् । सार्वजनिक गरिएको पोष्टरले पूजा र कविताको टकरावमा फिल्म केन्द्रित रहेको स्पष्ट संकेत गर्छ । पोस्टरमा पूजाको गालामा धारिलो वस्तुले काटेको दाग र कविताको निधारमा चोटको निशान देखिन्छ । यसले उनीहरूबीच ठूलो लडाइँ भएको देखाउँछ । पोष्टरको अनुसार हेर्ने हो भने दुई महिला पात्रको दुश्मनीको कथामा फिल्म आधारित रहेको बुझाउँछ । पूजा र कविता पहिलो पटक फिल्ममा एकसाथ देखिन लागेका हुन् । फिल्ममा उनीहरू एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ । पूजा र कवितासहित फिल्ममा अभिनेता पुष्प खड्काको पनि मुख्य भूमिका रहनेछ । अन्य कलाकारको बारेमा भने निर्माण पक्षले जानकारी कुनै दिएको छैन । दुई श्रृंखलामा निर्माण हुने यस फिल्ममा सुमन गजमेरको पटकथा तथा संवाद लेखन रहेको छ । सुमनले यसअघि ‘रंगी’ लेखेका थिए । फिल्मको निर्मातामा रामकृष्ण खरेल र अनुप गदाल रहेका छन् । जुना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौ अन्तिम साताबाट सुरु हुने जनाइएको छ । फिल्मलाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।