नबिन पन्त शुक्रबार, माघ ०३, २०८२

काठमाडौं। गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएपछि दुई पटकसम्म पार्टीका सभापति भएका शेरबहादुर देउवा राजनीतिक जीवनको उत्तरार्द्धमा दलविहीन बन्न पुगेका छन्। जेनजी आन्दोलन पछि नेपाली कांग्रेस भित्र चर्चिएको आन्तरिक द्धन्दका कारण नेतृत्व परिवर्तनको माग राख्दै आएका गगन थापा विशेष महाधिवेशनबाट सभापति चुनिएका थिए भने उनलाई शुक्रबार निर्वाचन आयोगले आधिकारिक मान्यता दिएपछि देउवा दलविहीन भएका हुन्।
गगन पक्षलाई दलको स्वामित्व दिएसँगै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवालाई एकपटक बोलाएर सोधखोज नगरी षड्यन्त्रपूर्ण निर्णय गरेको बताए। कांग्रेसको १३औं र १४औं महाधिवेशनबाट निर्वाचित भएका देउवालाई अन्नतः आफ्नै कार्यसमितिका तत्कालीन महामन्त्रीहरुले अपदस्थ गरिदिएका हुन्। योसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा विशेष महाधिवेशन पक्षधरले टिकट बाढ्ने निश्चित भएको छ।