नबिन पन्त बिहिबार, भाद्र ०४, २०८३

भदौ १२ गते अर्थात रक्षा बन्धनको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन हुन केबल एक हप्ता मात्र बाँकी हुँदा निर्माण पक्षले ट्रेलर दर्शकमाझ ल्याएको हो । बिहीबार एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको ४ मिनेट लामो ट्रेलरले दिदीभाइको मर्मस्पर्शी कथा पेस गरेको छ । नीताले अटिजम ९स्नायु विकाससम्बन्धी समस्या० भएकी पार्वती नामकी पात्रको भूमिकामा अभिनय गरेकी छन् । उनको भाइको भूमिका अशोक दर्जीले निर्वाह गरेका छन् । दिदीभाइको सम्बन्ध, सन्तानप्रति आमाबुबाको प्रेम, सामाजिक अन्धविश्वास, फरक क्षमता भएका व्यक्तिलाई समाजले गर्ने व्यवहारजस्ता पक्षलाई मर्मस्पर्शी रूपमा देखाइएको ट्रेलरले सशक्त कथावाचनको छनक दिएको छ । नीता ढुंगानाको निर्देशनमा तयार भएको यस फिल्ममा नीता र अशोकसहित दीपाश्री निरौला, राधिका कँडेल, राजेन्द्र नेपाली, आशा पौडेल, राज पंगेनी शर्मा, सिरु विष्ट, सुवास गजुरेललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । नीता फिल्म्सको प्रस्तुति रहेको फिल्मको कथा नीता स्वयंको हो भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन, एलिस कार्की र शिवम् रसाइलीको पार्श्व ध्वनी, रामजी लामिछानेको नृत्य निर्देशन तथा प्रशान्त सिवाकोटी, बाबुल गिरी, सिद्धार्थ सरकार पौडेल र दीपक शर्माको संगीत रहेको छ ।